जब,
तमोर नदीको किनारै किनार
म उडिरहेको बादल समात्न दौडिन्छु
साथी !
कुनै ढुङ्गामा ठेस लाग्दा
हात दिनु ।।
अभावको
खेतहरुमा आँसुको झरीले भिजाएर
जब म तराइको फाटहरुमा
असार रोपेर
पहेंलपुर मंसिरको कल्पना गर्छु
साथी,
मलाइ आत्मबिश्वासको
एक मुष्ठी बीज दिनु !
सुर दोभानको उकालो
थोरै सातु चामलको बन्दोबस्ती
र
यार्सागुम्बाको खोजीमा
गौरीशंकरको हारहारीमा
झिस्मिरेमा पालबाट निस्किदा
लालाबाला- घर र घरकी मान्छे
आपदमा रोए भने
बिपदमा भए भने
फर्की आउँने आट दिदै
साथी,
घरको चुल्हो बाल्न दाउरा चिरी दिनु ।
यो आगो उमार्ने गर्मीमा
म लोडर छु,स्टोर किपर छु
लेवर छु र अलक्रुजमा ट्याक्सी कुदाउछु
यस पटक छोरालाई स्मार्ट फोन चाहियो रे
छोरीले आइ प्याड मागेकी छे
यहाँ पैसा फल्ने रुख छैन
साथी,
सम्झाइदिनु
यो अरब हो,नामको अरब
मजदुर हौ हामी
मैले तिनको चित्त बुझाउन
मालिकलाई ढाट्नु पर्छ
कम्पनीमा लामो हात गर्नु पर्छ
अनि
सम्झाइ दिनु
यहाँ अपराधीलाई कडा सजाय हुन्छ
नेपाल जस्तो होइन ।
हो !
आज मित्र दिवश
मित्रहरुको दिन ।
आँसुभित्र खुसी भेटाउने
मनभित्र तस्वीर सजिने
मलाई कुनै मित्र दिनु
जसको आभाषलाई पनि म प्रेम गर्न सकु ।।
No comments:
Post a Comment